परराष्ट्रमन्त्री खनाल प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजीमा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी पुगेका छन्। फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल फिजी पुगेको हो।

मन्त्री खनालले अक्टोबर ६ मा हुने ‘लिडर्स प्लेनरी’मा सम्बोधन गर्ने कार्यक्रम छ। त्यसअघि पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत उनी सहभागी हुनेछन्।

जलवायु परिवर्तनका विषयमा विश्वव्यापी संवाद र सहकार्यलाई अघि बढाउने उद्देश्यले आयोजना हुने कार्यक्रममा नेपालको सहभागितामार्फत जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकार अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।

फिजी र टुभालुको कार्यक्रम सकेर मन्त्री खनाल अस्ट्रेलिया जानेछन्। उनले अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल हुने बताइएको छ।

अस्ट्रेलिया भ्रमणका क्रममा खनालले क्यानबेरास्थित नेपाली दूतावास तथा सिड्नीस्थित नेपाली डायस्पोराले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा पनि सहभागिता जनाउनेछन्। ती कार्यक्रममा उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।

मन्त्री खनाल अक्टोबर १२ मा नेपाल फर्कने कार्यक्रम रहेको छ।