गगनलाई बधाई दिँदै प्रचण्डले भने– अब क्रमभंग गर्ने पालो रविको
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई पार्टीमा ‘क्रमभंग’ गर्दै नयाँ इतिहास निर्माण गरेको भन्दै बधाई दिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले अब क्रमभंग गर्ने पालो गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भएको बताएका हुन्।
प्रचण्डले जनयुद्धदेखि शान्ति प्रक्रियासम्म आफूले पटकपटक राजनीतिक ‘क्रमभंग’ गर्दै आएको स्मरण गर्दै अब भने आफूलाई त्यसो गर्न कठिन भइरहेको बताए।
‘मैले धेरै क्रमभंग गर्थें। अब क्रमभंग गर्न मलाई अलि गाह्रो–गाह्रो भएको हो कि। अब क्रमभंग गर्ने पालो गगनजीको। क्रमभंग गर्ने पालो रविजीको,’ उनले भने।
प्रचण्डले गगन थापाले कांग्रेसको निरन्तरतामा क्रमभंग गर्दै पार्टीलाई नयाँ इतिहासतर्फ अघि बढाउने प्रयास गरेको भन्दै प्रशंसा गरे।
‘गगन थापाजीलाई बधाई। तपाईंले इतिहास बनाउनुभयो। निरन्तरतामा क्रमभंग गरेर कांग्रेसलाई नयाँ इतिहासतर्फ डोर्याउनुभयो,’ उनले भने।
गगन थापा स्वास्थ्य मन्त्री हुँदादेखि नै आफूले उनको सक्रियता देखेको उल्लेख गर्दै प्रचण्डले देशको नेतृत्व गर्ने आँट गर्न आग्रह गरे।
‘यो देशको नेतृत्व गर्ने आँट गर्नुस्, हामी तपाईंलाई सम्पूर्ण रूपमा साथ दिन तयार छौँ। अगाडि बढ्नुस्,’ प्रचण्डले भने।
उनले कांग्रेसको नेतृत्वमा परिवर्तन सम्भव बनाउन विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत नेताको सहकार्य र भूमिकासमेत महत्वपूर्ण रहेको बताए।
