१५औँ महाधिवेशनबाट पनि गगन सभापति बनाएर अघि बढ्छौँ : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनबाट पनि गगन थापाकै नेतृत्वलाई निरन्तरता दिँदै पार्टीलाई अघि बढाउने बताएका छन्।
महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले विशेष महाधिवेशनबाट ५० वर्षका गगन थापालाई सभापति बनाएर कांग्रेसले नयाँ पुस्तालाई नेतृत्वमा ल्याएको र अब पनि त्यही दिशामा अघि बढ्ने बताए।
‘कांग्रेसलाई ८० वर्षको सभापतिबाट ५० वर्षको सभापतिमा ल्याएका छौँ। विशेष महाधिवेशनबाट ५० वर्षका गगन थापालाई सभापति बनाएका छौँ। अब पनि त्यहीअनुसार अगाडि बढाउँछौँ,’ उनले भने।
शर्माले १५औँ महाधिवेशनलाई कांग्रेसको नयाँ यात्राको सुरुवात भएको बताए। महाधिवेशनपछि पार्टी अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अघि बढ्ने उनको भनाइ छ।
जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई नयाँ पुस्तासँग जोड्दै अघि बढ्नुपर्ने उनले बताए। विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उनको भनाइ थियो।
महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनेजी पुस्तासम्मको सहभागिता रहेको शर्माले बताए। करिब ३५ हजार प्रतिनिधिमध्ये ठूलो संख्या युवा रहेको भन्दै उनले यसलाई कांग्रेसको नयाँ ऊर्जाका रूपमा व्याख्या गरे।
फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले मुलुकलाई सफल बनाउन आवश्यक विषयमा सरकारसँग सहकार्य गर्न कांग्रेस तयार रहेको बताए। राष्ट्रिय हितका महत्वपूर्ण विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ।
जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनेजी आन्दोलनका माग सम्बोधन गर्नुपर्नेमा पनि शर्माले जोड दिए। देशभित्र र विदेशमा रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने भन्दै उनले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए।
‘नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल। यी दुवै नेपाललाई जोड्नुपर्छ,’ शर्माले भने, ‘विदेशमा रहेका नेपालीले नेपालको विकासमा लगानी गर्न चाहेका छन्। उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस तयार छ।’
नयाँ सरकार गठन भए पनि सामाजिक सञ्जालमा एकअर्काप्रति आक्रोश बढिरहेको उल्लेख गर्दै शर्माले अहिले नेपाली समाजमा संवाद, सद्भाव र एकताको आवश्यकता रहेको बताए। भूगोललाई मात्रै नभई नेपालीको मनलाई पनि जोड्नुपर्ने उनको भनाइ छ।
