कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक, असोज २२ गते मतदान
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिकाअनुसार असोज १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। सो नामावलीमाथि बेलुका ५ देखि ६ः३० बजेसम्म दाबी–विरोध गर्न सकिनेछ। दाबी–विरोधउपर ६ः३० देखि ७ः३० बजेसम्म जाँचबुझ गरी राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दर्ता गर्न सकिनेछ। सोही दिन दिउँसो ४ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ। उम्मेदवारीमाथि ४ः३० देखि ५ः३० बजेसम्म दाबी–विरोध तथा ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरिनेछ।
उम्मेदवारको दोस्रो नामावली असोज २० गते बेलुका ७ बजे प्रकाशन गरिनेछ। असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन वा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेदवारलाई सोही दिन प्रचारप्रसारका लागि समय दिइनेछ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ः३० बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, खुलामञ्च र प्रज्ञा भवन, कमलादीमा केन्द्र तोकिएको छ।


