आफ्नै खेत बगेभन्दा वडाको भवन ढलेकामा वडाध्यक्ष थापा बढी चिन्तित
गण्डकी । आफ्नै पालामा ठडिएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि बागलुङको गलकोट नगरपालिका-९ का वडाध्यक्ष तेजबहादुर थापाको मन कुँडिएको छ । बुधबार साँझपख क्षतिग्रस्त भवनछेउ भेटिएका उनी चिन्तित देखिए ।
दरमखोला किनारमा लडेको भवनतिर हेर्दै थापाले भने, ‘मलाई मेरो दस मुरी धान फल्ने खेत बगेर केही फरक परेको छैन, त्यहाँ अहिले खोला हिँडेको छ, तर यो वडा भवनसँगै मेरो इतिहास पनि मेटिएकामा सारै दुःख लागेको छ ।’ वडाध्यक्ष थापाको बाह्रमुरीमा रहेको धानखेत पनि गत आइतबारको बाढीले बगर बनाएको छ ।
स्थानीय पनि वडाको ‘गहना’ का रूपमा रहेको वडा कार्यालय भवन बाढीमा बग्दा चिन्तित रहेको वडाध्यक्ष थापाले सुनाए । वडा कार्यालयका अभिलेखसहित केही महत्वपूर्ण उपकरण बचाउन सकिए पनि सबैको पहलमा बनेको भवनसहित सरकारी सम्पत्ति नास हुँदा दुःख लागेको उनको भनाइ छ ।
‘अहिलेपनि म राम्रोसँग निदाउन सकेको छैन, अझै पनि ढलेको भवनभित्रबाट केही सामान झिक्न सकिन्छ कि भनेर यहाँ आइरहन्छु, मेरो मन–आत्मा त्यहीँ भवनमा छ’, उनी भन्छन् ।
विसं २०७४ को स्थानीय तह चुनावमा थापा वडाध्यक्षमा निर्वाचित भएपछि उनीसहित स्थानीयवासीको विशेष पहल र नगरपालिकाको ८० लाख बजेटबाट वडाको कार्यालय भवन निर्माण भएको थियो । दोस्रो कार्यालय पनि वडाध्यक्ष थापाले भवनलाई सुविधायुक्त बनाउन स्रोतसाधनको आवश्यक जोहो गरे ।
चिटिक्कको भवन छिनभरमै ढल्दा मन भारी भएको उनी बताउँछन् । वडाको बजेट र स्थानीयवासीको सहयोगबाट तीन रोपनी जग्गा खरिद गरी भवन बनाइएकामा अहिले नामोनिसान नरहने गरी भवन र जग्गा बाढीले बगाएको छ । झण्डै १५ लाख रूपैयाँमा जडान गरिएको सौर्य उर्जामा पनि क्षति पुगेको छ । नदीले कटानले भवनमा जोखिम बढ्दै गएपछि स्थानीय मिलेर कम्युटर, ल्यापटपलगायत केही महत्वपूर्ण सामान भवनबाट झिक्न सफल भएका थिए ।
दरमखोलाको बहावले जमिन छिचोल्दै गएपछि आइतबार बेलुका ४ बजेतिर वडा भवन खोला किनारमा ढलेको थियो । जगैदेखि ढलेपनि भवनको माथिल्लो संरचनामा भने खासै क्षति नपुगेको स्थानीय हुमलाल ढकालले बताए ।
बाढीले वडा कार्यालय नजिक रहेको ढकालको घर पनि जोखिममा परेको छन् ।
‘पानी पर्यो भने घर छाडेर हिँड्नुपर्ने अवस्था छ । बाढी प्रभावितको राहत र पुनःनिर्माणमा सरकारले ध्यान दिओस् भन्ने हाम्रो माग छ’, ढकालले भने ।
बाढीले वडा नं. ९ का केही घरगोठ र ठूलो मात्रामा धानखेत बगाएको छ । बाह्रमुखी, टिमुरबोटलगायत फाँटमा पाक्नै लागेको धानसँगै खेत बाढीले उजाडेपछि किसान पीडामा छन् ।
गलकोट नगरपालिकाले क्षतिको एकीन विवरण सङ्कलन गर्ने काम भइरहेको जनाएको छ । प्रारम्भिक विवरण अनुसार बाढीपहिरामा कारण गलकोठ नगर क्षेत्रभित्र २२ घरगोठमा क्षति पुगेको छ ।
रिसोर्टलगायत व्यावसायिक संरचनामा पनि क्षति पुगेको जनाइएको छ । मेयर भरत शर्मा गैरेले सरकारी र निजी गरी करोडौँको भौतिक सम्पत्तिमा क्षति पुगेको बताए ।
‘बाढीका कारण गलकोटमा मानवीय क्षति नभएपनि ठूलो भौतिक क्षति भएको छ । तत्काल राहतसँगै पुनःनिर्माणका काममा योजना बनाएर काम गर्छौँ’, उनले भने ।
बाढीपहिराका घटनाबाट गलकोटसहित जिल्लाका अधिकांश स्थानीय तह प्रभावित बनेका छन् । पहिरामा जिल्लामा १३ जनाले ज्यान गुमाएका छन् भने ठूलो भौतिक क्षति पुगेको छ ।
