पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रिहा
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार दिउँसो रिहा गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई रिहा गरिएको पुष्टि गर्दै उनलाई सुरक्षित स्थानतर्फ छोराको साथ लाएर पठाइएको जानकारी दिए।
यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट जवरालाई नियन्त्रणमा लिएको थियो। यद्यपि प्रहरीले आफूहरूले जबरालाई पक्राउ नगरेको, भौतिक आक्रमण हुनसक्ने सूचना पाएपछि सुरक्षाका लागि कार्यालयमा ल्याएको दाबी गरेको थियो।
जबराले २०७५ पुस १७ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए।
महाभियोग प्रस्ताव पारित नभए पनि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन्। निलम्बनकै अवस्थामा उनको प्रधानन्यायाधीशको कार्यकाल सकिएको थियो।
जबराविरुद्धको महाभियोग लामो समय संसद्मा विचाराधीन रहेको थियो। संसद्को अधिवेशन अन्त्य भएसँगै तत्कालीन संसद्का महासचिवले २०७९ मंसिरमा महाभियोग निष्क्रिय भएको पत्र दिएका थिए।
महाभियोग निष्क्रिय भएको पत्र लेखिएको विषयमा तत्कालीन महासचिवविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको थियो। उक्त रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराविरुद्धको महाभियोगको औचित्य समाप्त भइसकेको ठहर गर्दै रिट खारेज गरेको थियो।
