कालीगण्डकीको बाढीले पर्वतमा ८० घर बगायो, मानवीय क्षति भएको छैन
काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्से बस्तीका करिब ८० घर बगाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो।
बाढीका कारण ८० घर बगे पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको सशस्त्र प्रहरीले जनाएको छ।
बस्तीका अन्य घरसमेत उच्च जोखिममा रहेको सूचना आएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दासहित उनीहरूको धनमाल सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै फोन सम्पर्कमा समेत समस्या रहेकाले उद्धार तथा क्षतिको विवरण संकलनमा कठिनाइ भइरहेको छ।
