आज देशभर कांग्रेसको पालिका अधिवेशन, ३ हजार ७६५ जना नेतृत्वमा आउँदै
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। स्थानीय तहमा पार्टीको नयाँ सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको छ। बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा पनि मंगलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।
त्यस्तै, मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा समेत अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्रै अधिवेशन गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार रसुवाको अधिवेशनको मिति पछि तय गरिनेछ।
कांग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहने व्यवस्था छ।
कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान छ।
देशभरका ७५३ स्थानीय तहमा पाँच–पाँच जना पदाधिकारी चयन हुँदा पालिका तहमा कुल ३ हजार ७६५ जना पदाधिकारी नेतृत्वमा आउनेछन्।
