दसैँमा आधा दर्जन फिल्म प्रदर्शन हुने, ४ सिक्वेलबीच कडा प्रतिस्पर्धा
दसैको लामो विदाको मौका छोप्न आधा दर्जन भन्दा बढी चलचित्र प्रदर्शन हुँदैछन । त्यसमध्ये ४ वटा सिक्वेल फिल्मको कसले बढी कमाउने भन्ने महाप्रतिस्पर्धा हुने निश्चित भएको छ ।
विराज भट्टको ‘१२ गाउँ २’, पल शाहको ‘आबाट आमा २’ र अनमोल केसीको ‘बाटुलो जून’ ले असोज ३० को लागि प्रदर्शन मिति तोकेका छन् ।
त्यस्तै चर्चित शृंखला ‘कबड्डी ५’ ले कात्तिक ६ गतेको लागि प्रदर्शन मिति तय गरेको छ ।
दीपकराज गिरीले ‘छ माया छपक्कै २’ लाई असोज ३१ गते रिलिज गर्ने पक्का गरेका छन् । सोही दिन भुटान, भारत र नेपालको सहकार्यमा बनेको ‘टनेल २६’ रिलिज मिति समेत तय गरिएको छ। नेपालबाट प्रदीप खड्का र निर्वाण चौधरीको निर्माण रहेको रहेको यो फिल्म असोज २३ अर्थात घटनास्थापनाको दुई दिनअघि हलमा लाग्दैछ ।
चाडपर्वमा दर्शक हलतर्फ आउने भएकाले मेकरले दसैँलाई ‘प्राइम टाइम’ मान्छन्। जसकारण दसैँको मिति छोप्न निर्माताहरूलाई छायाङ्कनअगावै रिलिजको मिति तोक्न हतार हुन्छ। नयाँवर्ष सुरु हुँदै निर्माताहरूले दसैँलाई रिलिज मिति लक गरेका थिए।
चाडपर्व र बिदाका दिनमा फिल्म जुधाउनु नेपाली निर्माताको पुरानै रोग हो। यसअघिका वर्षमा पनि दसैँका अवसरमा एकसाथ थुप्रै फिल्महरू आइसकेका छन्। जुन फिल्म व्यावसायिक रूपमा सफल पनि भएका थिए ।
दसैँलाई प्रतिस्पर्धाभन्दा पनि महोत्सवको रूपमा लिनुपर्ने कतिपयको तर्क छ ।
दसैँमा बिदा धेरै रहेको र दसैँ सबैको भएकाले फिल्म हेर्न रुचाउने दर्शकले प्रायः सवै हेर्न भ्याउने समीक्षकहरु बताउँछन् । एक दुई वटा फिल्म हेर्ने दर्शकका लागि पनि रोजाइका फिल्म हेर्न पाउने छन् ।
यद्यपि, आधा दर्जन फिल्म दसैँमा रिलिज हुँदा सोको संख्या बाँडिने निश्चित छ। जसले फिल्मको व्यापारमा पनि प्रभाव पार्न सक्छ ।
