वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयका अनुसार भदौका लागि निर्धारण गरिएको मासिक राजस्व लक्ष्यको ९९ दशमलव ७५ प्रतिशत रकम संकलन भएको हो।

भदौसम्मको संकलनले चालु आर्थिक वर्षका लागि कार्यालयलाई तोकिएको वार्षिक राजस्व लक्ष्यको १४ दशमलव ५२ प्रतिशत हिस्सा पूरा भएको छ। भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले भदौसम्मको राजस्व संकलन लक्ष्यनजिक रहेको जानकारी दिए।

वीरगन्ज भन्सार कार्यालयका अनुसार मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेका छन्। यी वस्तुको आयातबाट भन्सार राजस्वमा उल्लेख्य योगदान पुगेको कार्यालयले जनाएको छ।