अमेरिकासँग वार्ताका लागि इरानका तीन सर्त, ट्रम्पको जवाफको प्रतीक्षा

काठमाडौँ । इरानले अमेरिकासँग पुनः वार्ता अघि बढाउन तीनवटा प्रमुख सर्त अघि सारेको छ। इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईका अनुसार कतारमार्फत ती सर्त अमेरिका समक्ष पठाइएको छ र अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियाको प्रतीक्षा गरिएको छ।

रेजाईका अनुसार इरानले युद्धका सबै मोर्चामा अन्त्य, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने सर्त राखेको छ। इरानले कतारसँग निरन्तर सम्पर्कमा रहेर वार्ताको पहल अघि बढाइरहेको उनले बताएका छन्।

रेजाईले अमेरिकासँग वार्ताका लागि कुल सातवटा सर्त पठाइएको बताएका छन्। तीमध्ये तीन प्रमुख सर्त सार्वजनिक गरिएका हुन्। यसअघि इरान र अमेरिकाबीच वार्ता अघि बढाउन कतार र पाकिस्तानले मध्यस्थको भूमिका निर्वाह गर्दै आएका छन्।

वार्ताको संकेतसँगै रेजाईले सैन्य चेतावनीसमेत दिएका छन्। इरानमाथि पुनः अमेरिकी आक्रमण भए क्षेत्रका अमेरिकी सैन्य अड्डा तथा अन्य अमेरिकी हितलाई लक्षित गरेर जवाफी कारबाही गरिने उनको भनाइ छ। उनले इरान निर्णायक युद्धका लागि पनि तयार रहेको बताएका छन्।

परमाणु कार्यक्रमबारे रेजाईले इरानले अहिलेसम्म परमाणु अप्रसार सन्धि (एनपीटी) बाट बाहिरिने निर्णय नगरेको बताएका छन्। अमेरिकी गतिविधि र आगामी परिस्थितिले भविष्यको निर्णय प्रभावित गर्न सक्ने उनको भनाइ छ।

उनले इरानले पूर्व सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीको परमाणु हतियारविरुद्धको फतवा अझै पालना गरिरहेको र आफ्नो परमाणु नीतिमा परिवर्तन नगरेको दाबी गरेका छन्। यद्यपि भविष्यमा परिस्थिति कस्तो हुन्छ भन्नेबारे अहिले नै निश्चित भन्न नसकिने उनले बताएका छन्।

यसैबीच रेजाईले साउदी अरब र यमनबीच जारी द्वन्द्व अन्त्य गर्न पनि आह्वान गरेका छन्। यमनका हुथी पक्ष पनि साउदी अरबसँग सम्झौतामा पुग्न इच्छुक रहेको आफूहरूको बुझाइ रहेको उनले बताएका छन्।