सरकारको ज्यादतीविरुद्ध दशैं–तिहारपछि सडक आन्दोलन गर्ने प्रचण्डको चेतावनी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं–तिहारपछि सरकारविरुद्ध सडक आन्दोलनमा जाने तयारी भइरहेको बताएका छन्।
अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले सरकारप्रति जनआक्रोश बढ्दै गएको दाबी गरे। उनले सरकारका गतिविधिविरुद्ध प्रतिपक्षी दल, नागरिक समाज तथा विभिन्न पक्षलाई समेटेर संयुक्त आन्दोलनको तयारी भइरहेको बताए।
प्रचण्डले संसद्भित्र प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याएर संयुक्त रूपमा आवाज उठाइरहेको उल्लेख गर्दै सरकारमाथि सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियनलगायतमाथि दमन गरेको आरोप लगाए।
‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षलाई एक ठाउँमा पारेका छौँ। त्यहाँ संयुक्त रूपमा आवाज उठाउँछौँ। सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि दमन सुरु गरेको छ,’ उनले भने, ‘त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ।’
विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग निरन्तर छलफल भइरहेको पनि प्रचण्डले बताए।
दशैं–तिहारलगायत ठूला चाडपर्वको अवधिमा आन्दोलनको तयारीलाई अघि बढाउने र चाडपर्वपछि देशको परिस्थितिअनुसार आन्दोलनलाई थप व्यवस्थित गर्ने उनको भनाइ छ।
‘चाडपर्वका यो अवधिभित्र पनि हामीले तयारीका कामलाई अगाडि बढाउँछौँ। चाडपर्वपछिको देशको परिस्थिति हेरेर प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध प्रतिवाद र एउटा नयाँ आन्दोलन सिर्जना गर्नुछ,’ उनले भने।
सबै पक्षलाई समेटेर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिँदै प्रचण्डले आन्दोलनका लागि ‘ठूलो छाती’ बनाएर सहकार्य गर्नुपर्ने बताए।
