कांग्रेसले चार जिल्ला सभापतिको जिम्मेवारी खोस्यो, महामन्त्री घिमिरेलाई मुगु प्रवेश निषेध
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन असहमति जनाएका चार जिल्ला सभापतिको कार्यकारी जिम्मेवारी खोसेर कार्यवाहक सभापति तोकेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसिएको हो। उनीहरूको औपचारिक सभापति पद भने कायमै रहनेछ।
निर्णयअनुसार कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी हरिचन्द्र रानालाई, मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाहीलाई, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई र बागलुङका सभापति जित शेरचनको जिम्मेवारी तारानाथ पौडेललाई दिइएको छ।
कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ।
यसैबीच मुगु कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेश निषेध गर्ने निर्णय गरेको छ। जिल्ला सभापति ऐनबहादुर शाहीलाई हटाएर हरिजङ्ग शाहीलाई कार्यवाहक सभापति तोकिएको निर्णयप्रति आपत्ति जनाउँदै यस्तो निर्णय गरिएको हो।
मुगु कांग्रेसको बैठकको निर्णयमा ऐनबहादुर शाही पार्टीका गतिविधिमा सक्रिय हुँदाहुँदै आफूलाई जानकारी नदिई कार्यवाहक सभापति तोकिएको भन्दै आपत्ति जनाइएको छ। विधानविपरीत निर्णय गरिएको दाबी गर्दै महामन्त्री घिमिरेलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरिएको उल्लेख छ।
यता जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति पदम बोगटीले अदालतको फैसला नआएसम्म महाधिवेशनका कार्यक्रम अघि नबढाउन आग्रह गरेका छन्। उनले बिहीबार विज्ञप्ति जारी गर्दै महाधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित गर्न अपिल गरेका हुन्।
कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिका र प्रक्रियालाई लिएर संस्थापन तथा संस्थापन इतर समूहबीच विवाद चर्किएको छ।
