विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गर्न सभामुखलाई आग्रह गर्ने निर्णय
संयुक्त राष्ट्रसंघ महासभामा जलवायु न्यायको विषय उठाउन सुझाव
काठमाडौं । विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गर्न सभामुखलाई आग्रह गर्ने निर्णय भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले संसद्मार्फत यस्तो संयन्त्र गठनका लागि पहल गर्ने निर्णय गरेको हो।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई समेटेर एक साताभित्र संयन्त्र गठन गर्न सभामुखलाई आग्रह गर्ने सहमति भएको छ।
बैठकमा बाढी तथा अन्य विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानुनी व्यवस्थाबारे पनि छलफल भएको थियो। हालको कानुनअनुसार बेपत्ता भएको १२ वर्षपछि मात्रै मृत घोषणा गर्न सकिने प्रावधान रहेकाले बाढीमा बेपत्ता भएकाहरूका परिवारले बीमा लगायतका सुविधा प्राप्त गर्न समस्या हुने विषय उठाइएको शाहीले बताए।
लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय पनि गरेको छ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार संयन्त्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, जनमोर्चालगायत दल सहभागी हुनेछन्।
उनका अनुसार दीर्घकालीन रूपमा समग्र विकास निर्माण तथा विपद् जोखिम न्यूनीकरणका काममा सहजीकरण गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय भएको हो।
बैठकले संसद्मा प्राप्त सिट संख्याका आधारमा राजनीतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक साताभित्र सर्वदलीय संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख तथा संसद्समक्ष औपचारिक अनुरोध गर्ने निर्णयसमेत गरेको छ।
प्रवक्ता खरेलले संसद्भित्रैबाट यस्तो समिति गठन गर्न सबै दल तयार रहेको बताए।
संयुक्त राष्ट्रसंघ महासभामा जलवायु न्यायको विषय उठाउन सुझाव
बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघ महासभामा सहभागिताबारे समेत छलफल भएको थियो।
बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले विश्व मञ्चमा नेपालको तर्फबाट जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउन सरकारलाई सुझाव दिएका छन्।
रास्वपा प्रवक्ता खरेलका अनुसार सर्वदलीय बैठक बोलाएर छलफल अघि बढाएकोमा विभिन्न राजनीतिक दल तथा शीर्ष नेताहरूले लामिछानेलाई धन्यवादसमेत दिएका छन्।
