भोटेकोसी बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन, तीन चरणमा अध्ययन

काठमाडौँ । सरकारले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको उत्पत्ति, कारण र घटनाक्रमबारे वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य छन्।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समितिले बाढीको सम्भावित उद्गमस्थलदेखि ल्हेन्दे–भोटेकोसी नदी प्रणाली हुँदै सम्पूर्ण तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गर्नेछ।

अध्ययनमा बाढीको वास्तविक उत्पत्ति, त्यससँग जोडिएका हिमाली भू–जोखिम, घटनाक्रम तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक प्रमाण खोजिनेछ।

जल तथा ऊर्जा आयोगको सचिवालयले भोटेकोसी बाढीलाई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक, हिमनदीय र जलविज्ञानसम्बन्धी जोखिम एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित ‘शृंखलाबद्ध विपद्’ का रूपमा अध्ययन गर्न प्रस्ताव गरेको थियो। सोही आधारमा मन्त्रालयले विस्तृत वैज्ञानिक अध्ययन अघि बढाएको हो।

यसअघि जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले घटनाबारे प्रारम्भिक अध्ययन गरेको थियो। प्रारम्भिक अध्ययनले बाढीको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद् सुरु भयो र ती प्रक्रिया कसरी ल्हेन्दे–भोटेकोसी नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त वैज्ञानिक प्रमाण फेला नपरेको निष्कर्ष निकालेको थियो।

केन्द्रले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको सुझाव दिएको थियो।

अब विज्ञ समितिले भूगर्भ, तापक्रम, पानीको बहाव तथा हिमनदीलगायत पक्षलाई समेटेर समग्र अध्ययन गर्नेछ। मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार भोटेकोसी बाढीबाट त्रिशूली करिडोरका साथै ऊर्जा क्षेत्रका पूर्वाधारमा समेत ठूलो प्रभाव परेको र भविष्यमा यस्ता विपद्ले अन्य नदी प्रणालीमा पनि असर पार्न सक्ने भएकाले अध्ययन अघि बढाइएको हो।

तीन चरणमा अध्ययन

समितिले अध्ययनलाई तीन चरणमा अघि बढाउनेछ।

पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि ल्हेन्दे–भोटेकोसी नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ। यस क्रममा हिमनदी, चट्टान तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्धको अध्ययन हुनेछ।

दोस्रो चरणमा बाढीका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ। तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनले यस्ता जोखिमको सम्भावना, तीव्रता तथा पूर्वतयारीको अवस्थालाई कति प्रभाव पारेको थियो भन्ने विषयमा वैज्ञानिक मूल्याङ्कन गरिनेछ।

समितिले सम्भावित उद्गमस्थलमा स्थलगत भ्रमण गरी तस्बिर तथा भिडिओ अभिलेख तयार गर्नेछ। आवश्यकताअनुसार ड्रोन र स्याटेलाइट प्रविधिबाट समेत अध्ययन गरिने मन्त्रालयले जनाएको छ।

यसअघि सन् २०२४ सेप्टेम्बर २६ देखि २८ सम्म नेपालमा भएको अत्यधिक वर्षा, बाढी तथा पहिरोबारे अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययन समूह ‘वर्ल्ड वेदर एट्रिब्युसन’ले मानवजनित जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावको मूल्याङ्कन गरेको थियो।

मन्त्रालयले विज्ञ समितिलाई अध्ययन पूरा गर्न दुई महिनाको समय दिएको छ। समितिको अध्ययनबाट प्राप्त वैज्ञानिक प्रमाणका आधारमा भोटेकोसी बाढीको प्रकृति र उत्पत्तिबारे स्पष्ट निष्कर्ष निकाल्नुका साथै घटनालाई उपयुक्त वैज्ञानिक नाम दिने तयारीसमेत मन्त्रालयले गरेको छ।