प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत, अरु केके भयो मन्त्रिपरिषदबाट निर्णय ?
काठमाडौँ । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जाँदै छन्। प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका प्रस्थान गर्नेछन्।
महासभामा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने तय भएको छ।
मन्त्रिपरिषद् बैठक
१. विसं २०८३ असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।
२.भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने ।
३. अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।
४.काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७,४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने ।
५.शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल (भक्तपुर), सदस्यमा रामशरण सापकोटा (मकवानपुर) र महिला सदस्यमा विष्णु घिमिरे रिमाल (काठमाडौँ) लाई नियुक्ति गर्ने ।
६. सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।
७. सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।
