वागमती एमाले : थपलिया दलको नेतामा निरन्तरता, थापालाई मुख्यमन्त्री बनाउने सहमति
हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने र किरण थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ।
मंगलबार हेटौंडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई दलको नेतामा यथावत् राख्दै थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने सहमति गरेको हो।
एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको उपस्थितिमा भएको बैठकमा प्रदेश अध्यक्ष कैलाश ढुंगेल, प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा लगायतका नेताहरू सहभागी थिए।
यसअघि साउन २७ गते एमालेका १६ जना प्रदेशसभा सदस्यले थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै किरण थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए। पार्टी नेतृत्वको पहलपछि भने थपलियालाई दलको नेतामै कायम राख्दै थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमति जुटाइएको हो।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिसकेका छन्। मुख्यमन्त्री पदमा दाबी पेस गर्न बिहीबार अपराह्न ४ बजेसम्मको समय तोकिएको छ।
एमाले–नेकपा गठबन्धनसँग ५१ जना सांसद रहेकाले सरकार गठनका लागि थप दुई सांसदको समर्थन आवश्यक पर्नेछ। एमालेभित्रको विवाद टुंगिएसँगै अब बहुमत जुटाउन राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीसँग छलफल अघि बढाउने तयारी भएको किरण थापाले बताएका छन्।
