लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो। प्रदेशसभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए।
विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमतका लागि पर्याप्त भएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन्।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए। एमालेका २९, नेपाली कम्युनिष्ट पार्टीका १२ मध्ये ११ तथा जसपा नेपालका ५ मध्ये ४ र राष्ट्रिय जनमोर्चाका एक सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका हुन्।
नेपाली कम्युनिष्ट पार्टीका एक सांसद विदेशमा रहेकाले मतदानमा सहभागी भएनन् भने जसपा नेपालकी अम्बिका काफ्ले पनि अनुपस्थित थिइन्।
प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए। हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित थिए।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन्। कांग्रेसले समर्थन फिर्ता लिए पनि सरकारमा सहभागी अन्य दलको समर्थन कायम राख्दै आचार्यले बहुमत जुटाएका हुन्।
लुम्बिनी प्रदेशसभामा एमाले, नेपाली कम्युनिष्ट पार्टी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमा छन् भने नेपाली कांग्रेस र जनमत पार्टी विपक्षमा रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो।
जसपा नेपाललाई सरकारबाट बाहिरिन पार्टी केन्द्रले निर्देशन दिएको भए पनि प्रदेश संसदीय दलले सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो। जसपा नेपालले विश्वासको मत दिएपछि मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार बहुमत जोगाउन सफल भएको हो।
जसपा नेपालले मतदान नगरेको अवस्थामा मुख्यमन्त्री आचार्यको पक्षमा आवश्यक बहुमत पुग्ने अवस्था थिएन।
