टिचिङ अस्पतालको इमरजेन्सीबाहिरै बिरामीको मृत्यु, ‘बेड नपाएको’ भन्दै आफन्तको नाराबाजी

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि ल्याइएका एक बिरामीको आकस्मिक कक्षबाहिरै मृत्यु भएको छ। मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रबार आकस्मिक कक्षबाहिर एम्बुलेन्समै मृत्यु भएको हो।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार थापा नियमित डायलिसिस गराउँदै आएका बिरामी थिए। स्ट्रोकको समस्या देखिएपछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो।

अस्पतालका अनुसार बिरामीका आफन्त उनलाई आकस्मिक कक्षको ‘रेड एरिया’मा लिएर पुगेका थिए। तर, त्यतिबेला आकस्मिक कक्षमा बेड खाली नभएकाले केही समय पर्खिएर बेड व्यवस्थापन गर्न चिकित्सकले आग्रह गरेका थिए।

अस्पतालका प्रवक्ता सेढाईंका अनुसार आफन्तले बिरामीलाई अन्य अस्पताल लैजाने बताएका थिए।

‘आकस्मिक कक्षमा त्यसबेला बेड खाली थिएन। चिकित्सकले बेड व्यवस्थापन गर्न केही समय दिन आग्रह गर्नुभएको रहेछ। तर, उहाँहरूले बिरामीलाई केएमसी लैजान्छौँ भन्नुभएको रहेछ,’ उनले भने।

त्यसपछि बिरामीलाई एम्बुलेन्ससम्म पुर्‍याइएको थियो। अस्पतालका अनुसार त्यसको करिब १० देखि १५ मिनेटमै बिरामीको अवस्था गम्भीर बनेको र एम्बुलेन्समै मृत्यु भएको हो।

अस्पताल प्रशासनले बिरामीलाई आकस्मिक कक्षभित्र ल्याएर चिकित्सकीय परीक्षण गर्नसमेत नपाइएको जनाएको छ। एम्बुलेन्समै मृत्यु भएपछि शवलाई आकस्मिक कक्षभित्र ल्याएर चिकित्सकबाट परीक्षण गराउन आग्रह गरिएको भए पनि उक्त प्रक्रिया पूरा हुन नसकेको प्रवक्ता सेढाईंले बताए।

‘हामीले शरीरलाई इमरजेन्सीभित्र ल्याइदिनुस्, डेथ हो कि लाइभ हो भनेर चेक गर्छौँ भनेका थियौँ,’ उनले भने, ‘तर त्यो गर्न पनि सम्भव भएन।’

आकस्मिक कक्षमा अत्यधिक चाप

अस्पताल प्रशासनले आकस्मिक कक्षमा बिरामीको अत्यधिक चाप रहेको जनाएको छ। रेड एरिया र येलो एरियासमेत भरिभराउ रहेकाले नयाँ बिरामीलाई तत्काल राख्ने ठाउँको अभाव हुने गरेको अस्पतालको भनाइ छ।

‘अहिले आकस्मिक कक्षमा धेरै बिरामी छन्। रेड एरिया र येलो एरियामा समेत तत्काल नयाँ बिरामी राख्न सकिने अवस्था छैन,’ प्रवक्ता सेढाईंले भने।

बेड व्यवस्थापन गर्ने प्रयास भइरहेकै अवस्थामा बिरामीको मृत्यु भएको अस्पतालको दाबी छ।

यता, बिरामीको मृत्यु भएपछि आफन्तले भने ‘बेड नपाएकै कारण बिरामीको मृत्यु भएको’ आरोप लगाउँदै अस्पताल परिसरमा नाराबाजी गरेका छन्।

घटनापछि अस्पताल प्रशासनले घटनाबारे थप विवरण बुझिरहेको जनाएको छ। अस्पतालले बिरामीको मृत्युको वास्तविक कारण र उपचार प्रक्रियासम्बन्धी विषयमा थप अध्ययन भइरहेको बताएको छ।