गगनलाई सभापति भन्न मनै लागेको छैन : कृष्ण सिटौला
महत र मोहन बस्नेतको पनि गगन थापामाथि आलोचना, देउवाकै नेतृत्वमा कांग्रेस अघि बढाउनुपर्ने धारणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विषयमा प्रश्न उठाउँदै आफूले थापालाई सभापति स्वीकार गर्न नसकेको बताएका छन्।
शुक्रबार कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले निर्वाचन आयोगले लहडमा विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाए। उनले आधिकारिकता दिने निर्वाचन आयुक्तको भूमिकामाथिसमेत प्रश्न उठाए।
सर्वोच्च अदालतबाट मुद्दामा निस्सा पाएपछि न्याय पाउने विश्वास बढेको उल्लेख गर्दै उनले कांग्रेसको विशेष महाधिवेशन विधानविपरीत र अराजक ढंगले गरिएको दाबी गरे।
‘गगन भाइलाई सभापति भन्न मनै लागेको छैन। विशेष महाधिवेशनलाई मान्यता दिन सकिएको छैन। अराजक ढंगबाट गरिएको छ। व्यक्तिगत पूर्वाग्रह होइन, विधानविपरीत छ,’ सिटौलाले भने।
उनले भएका गल्ती सच्याएर पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
‘देउवाकै नेतृत्वमा महाधिवेशन हुनुपर्छ’
कांग्रेस नेता डा. प्रकाशशरण महतले पनि गगन थापा नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्न नसकिने बताएका छन्। उनले सर्वोच्च अदालतबाट पुनरावलोकनको अनुमति पाइसकेकाले पार्टी एकताको सम्भावना अझै जीवित रहेको बताए।
इतर पक्षको भेलालाई सम्बोधन गर्दै महतले आफूहरूले पार्टी विभाजन चाहेको भनेर भ्रम फैलाइएको दाबी गरे।
‘कांग्रेसको आधिकारिकता अहिले जहाँ छ, त्यहाँ आत्मा छैन, शरीर मात्रै छ। आत्मालाई जबरजस्ती बाहिर धकेलेर निकालियो। त्यसैले आत्मासहितको कांग्रेस आवश्यक छ। त्यसैले जोडिनुपर्छ,’ उनले भने।
विशेष महाधिवेशनमा त्रुटि भएकै कारण सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको उनको दाबी थियो। सर्वोच्चबाट न्यायिक प्रक्रिया अघि बढिरहेको अवस्थामा गगन नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्न नसकिने भन्दै उनले शेरबहादुर देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्नुपर्ने बताए।
देउवाकै नेतृत्वमा पार्टी एकता सम्भव हुने उनको भनाइ थियो।
गगनमाथि मोहन बस्नेतको कडा टिप्पणी
कांग्रेस नेता मोहन बस्नेतले पनि गगन थापाको नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने टिप्पणी गरेका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउनुपर्ने बताए।
सरकारलाई समेत डोर्याएर मुलुकलाई निकास दिन सक्ने हैसियत देउवासँग मात्र रहेको उनको दाबी थियो। उनले विशेष महाधिवेशनका पक्षधरहरूलाई ‘खरानी दस्ता’को संज्ञासमेत दिए।
गगन थापाले आफूलाई युवा नेताका रूपमा प्रस्तुत गर्ने गरेको भन्दै बस्नेतले उनको उमेर र राजनीतिक अभिव्यक्तिमाथि प्रश्न उठाए।
‘उहाँले युवा भन्नुहुन्छ, ५२ वर्ष नाघिसक्नुभएको छ। उहाँले ५५ वर्ष पुगेपछि मैले राजनीति छाड्छु भन्नुभएको छ। अब तीन वर्षमा चुनाव नियमित प्रक्रियामा भयो भने आउने चुनाव उहाँ लड्न भ्याउनुहुन्न। कमसेकम बोलेको कुरा पूरा गर्नुहुन्छ गगन थापाजी,’ बस्नेतले भने।
उनले गगन थापाको नेतृत्वले कांग्रेसलाई कमजोर बनाएको आरोप लगाए।
‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन। त्यसकारण आज पार्टी चलेको छैन, पार्टी बर्बाद भएको छ, भष्मखरानी भएर गएको छ,’ बस्नेतले भने।
देउवाको नेतृत्वमा कांग्रेसलाई वडा, पालिका, प्रदेश, संघ तथा राष्ट्रिय सभासम्म बहुमतको अवस्थामा पुर्याइएको दाबी गर्दै उनले वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउनेहरूलाई समेत आलोचना गरे।
‘त्यत्रो कांग्रेसको हालत सानो बनाइएको छ। अझै गगन नभएको कांग्रेस माटोमा मिल्थ्यो रे? के भन्यो त्यो? तपाईंहरू खरानी भइसक्नुभयो। तपाईंबाट पार लाग्दैन,’ बस्नेतले भने।
बस्नेतको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै गगन थापाले भने आफूले युवालाई नेतृत्वमा अगाडि बढाएर राजनीति छाड्न तयार रहेको बताएका छन्।
उनले आफूले कठिन अवस्थामा रहेको सिन्धुपाल्चोकबाट चुनाव जितेर कांग्रेसलाई ठूलो दल बनाएको दाबी गर्दै नेताहरूलाई आफ्नो भनाइ व्यवहारमा उतार्न चुनौती दिए।
‘कांग्रेस शून्य भएको ठाउँमा मैले चुनाव जितेर ठूलो दल बनाएर सिन्धुपाल्चोकबाट आएको हो। तपाईं जस्तो भागी–भागी अर्काले दुःख गरेको ठाउँमा गएर चुनाव लड्न परेको छैन,’ थापाले भने।
आफूलाई चुनाव क्षेत्र नभएको आरोप लगाइएकोप्रति उनले प्रश्न गर्दै त्यसो भए आफू र सम्बन्धित नेताले आगामी निर्वाचन नलड्ने प्रस्तावसमेत राखे।
‘उहाँको चुनाव क्षेत्र नभएको कुरा प्रमाणित भएको छ। त्यो भए तपाईं पनि चुनाव नलड्नुस्, म पनि लड्दिनँ। मुखले बकवास गरेर हुँदैन, फण्डा नगरौँ, व्यवहारमा उतारौँ,’ उनले भने।
