जनताको चुलो बल्न छाडेको भन्दै राष्ट्रिय सभामा सरकारको आलोचना
काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै जनताको चुलो बल्न छाडेको बताएका छन्।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले ग्यास अभावसँगै मुलुकको शान्ति सुरक्षा र सरकारको कार्यशैलीप्रति समेत असन्तुष्टि व्यक्त गरे।
सांसद कमला पन्तले बजारमा ग्यासको हाहाकार भइरहेका बेला सरकारले आपूर्ति सहज रहेको दाबी गर्नु लज्जास्पद भएको बताइन्। जनताको घरमा चुलो बल्न छाडिसकेको उल्लेख गर्दै उनले ग्यास अभावबारे सरकारलाई आवश्यक निर्देशन दिन माग गरिन्।
नेकपा (एमाले)की सांसद मदनकुमारी शाह (गरिमा)ले ‘डेलिभरी’को नारा दिने सरकारले जनतालाई ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य बनाएको भन्दै सरकारको आलोचना गरिन्।
सांसदहरू तुलप्रसाद विश्वकर्मा र नरबहादुर विष्टले पनि ग्यास अभावप्रति सरकार गम्भीर नबनेको आरोप लगाए। उनीहरूले ग्यास नपाएर सर्वसाधारणले सास्ती खेपिरहेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
उनीहरूले माइतीघर मण्डलमा ११६ दिनदेखि धर्नारत दिपा नेपालीको मागप्रति सरकार उदासीन बनेको भन्दै आपत्तिसमेत जनाए।
यसैबीच, सांसद नारायणदत्त मिश्रले सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष न्यायिक छानबिन र दोषीमाथि कारबाहीको माग गरे। दुई समूहबीच तनाव बढ्दा सुरक्षा संयन्त्र समयमै परिचालन हुन नसकेको उनको भनाइ थियो।
सिराहाको गोलबजारमा भएको आगजनी तथा भौतिक क्षतिका विषयमा सांसद मोहम्मद खालिदले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन र सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे।
त्यस्तै, सांसद भूवनबहादुर सुनारले सरकारको सयबुँदे कार्ययोजनाको आलोचना गर्दै सुकुम्बासी बस्तीमा डोजर आतंक, रासायनिक मलको अभाव र बढ्दो महँगी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए।
सांसद युवराज शर्माले राष्ट्रिय ट्रमा सेन्टरमा महँगा स्वास्थ्य उपकरण बिग्रिएको, विद्युतमा भ्याट लगाइएको तथा कृत्रिम अभाव सिर्जना भएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए। यस्ता समस्याका कारण जनतामा निराशा बढ्दै गएको उनको भनाइ थियो।
