नाइमा एक्स्पोमा ५५ वटा ब्रान्ड, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ।

एक्स्पोको मंगलबार नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले उद्घाटन गरेका हुन्। साउन ३१ गतेसम्म ६ दिन सञ्चालन हुने एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादन प्रदर्शनमा राखिएका छन्।

आयोजकका अनुसार एक्स्पोमा ५५ वटा ब्रान्ड सहभागी छन् भने ४० भन्दा बढी नयाँ मोडल तथा उत्पादन सार्वजनिक गरिँदै छन्।

नाइमा अध्यक्ष रितु सिंह वैद्यले उत्पादक र आयातकर्तालाई एउटै संस्थामा आबद्ध गराउने उद्देश्यले एक वर्षअघि संस्था स्थापना गरिएको बताइन्। उनका अनुसार सुरुमा २१ सदस्यबाट सुरु भएको नाइमा अहिले ३६ सदस्य पुगेको छ।

नेपालको यातायात क्षेत्र क्रमशः विद्युतीय सवारीसाधनतर्फ अघि बढिरहेको उल्लेख गर्दै वैद्यले यसले हरित अर्थतन्त्र निर्माणमा समेत योगदान पुर्‍याइरहेको बताइन्। मोबिलिटी भनेको सवारीसाधनमा मात्रै सीमित नभई मानिस तथा सेवाको पहुँचसँग समेत जोडिएको उनको भनाइ छ।

उनले सरकारले अटो क्षेत्रसँग सम्बन्धित नीति निर्माण गर्दा व्यवसायी तथा सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्नेमा जोड दिइन्। नेपालमै अटो कम्पोनेन्ट उत्पादन गर्ने उद्योग स्थापनाका लागि सरकारले प्रोत्साहन गरे एसेम्बल प्लान्टको विकास र विस्तारमा समेत सहयोग पुग्ने उनले बताइन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सडक सुरक्षा र सवारी व्यवस्थापनलाई महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने बताए। सडकमा गुड्ने सवारीसाधन जति सुरक्षित हुन्छन्, त्यति नै समाजका लागि सकारात्मक हुने उनको भनाइ छ।

नेपाल प्रहरीले ट्राफिक सचेतना र सवारी व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै कार्कीले सडक दुर्घटनामा चालकको लापरबाहीलाई मात्रै दोष दिन नहुने बताए। दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको डिजाइन, सडकको अवस्था र इन्जिनियरिङ पक्ष पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए।

कार्कीका अनुसार गत आर्थिक वर्षमा सडक दुर्घटनामा करिब २ हजार ७ सय जनाले ज्यान गुमाएका छन् भने ४७ हजार ५ सयभन्दा बढी घाइते भएका छन्। दुर्घटनामा संलग्न सवारीसाधनमध्ये करिब ५९ प्रतिशत मोटरसाइकल रहेको उनले जानकारी दिए।

पछिल्लो समय नेपालमा विभिन्न ब्रान्डका सवारीसाधन भित्रिए पनि बिक्रीपछिको सेवा प्रभावकारी नभएको गुनासो बढिरहेको भन्दै उनले व्यवसायीलाई ग्राहक सेवामा पनि ध्यान दिन आग्रह गरे।

त्यस्तै, शिक्षित तथा सचेत भनिएका व्यक्तिहरूले समेत जथाभावी पार्किङ गर्दा काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनमा समस्या हुने गरेको उनले बताए।

एक्स्पो अवधिभर अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा संवाद तथा छलफल हुने आयोजकले जनाएको छ। लगानी, ब्याट्री व्यवस्थापन, विद्युतीय सवारीसाधन तथा अटो प्रविधिलगायत विषयमा विज्ञ तथा सरोकारवालाबीच छलफल गरिनेछ।