देउवा समूहको राष्ट्रिय भेलामा शेखर कोइराला पनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।

गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै देउवा समूहले यही २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको छ। उक्त भेलामा कोइराला सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित यसअघिका कुनै पनि बैठकमा सहभागी नभएका कोइराला राष्ट्रिय भेलामा भने सम्बोधन गर्न जाने भएका हुन्।

कांग्रेसभित्र जारी आन्तरिक विवादमा नेता कोइरालाले पछिल्लो समय मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका छन्। देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।

भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाएपछि देउवा समूह उत्साहित बनेको छ। सर्वोच्चले यसअघि भएको फैसलालाई पुनरावलोकन गर्न आदेश दिएपछि तत्कालका लागि पार्टी विभाजनको सम्भावना टरेको देउवा समूहको बुझाइ छ।