नेपालभित्रको असन्तोषमा बाह्य शक्तिले खेलेकोप्रति चिन्तित छौँ : एमाले नेता ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालले हालै गम्भीर राजनीतिक अस्थिरताको कठिन समय पार गरेको बताएका छन् । उनले देशभित्रको असन्तोषलाई उपयोग गर्दै बाह्य शक्तिले राजनीतिक अस्थिरता निम्त्याउन खोजेकोप्रति आफूहरू चिन्तित रहेको बताएका छन् ।

क्युबामा सम्पन्न कम्युनिस्ट तथा मजदुर पार्टीहरूको २५औँ अन्तर्राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले नेपालमा भएको जेनजी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराएका हुन् ।

उनले जेनजीको आन्दोलनका रूपमा सुरु भएको प्रदर्शन पछि हिंसा र विनासतर्फ मोडिएको बताए । उनका अनुसार त्यसक्रममा सार्वजनिक संस्थाहरू आक्रमणको निशाना बने भने ऐतिहासिक सम्पदामा क्षति पुग्नुका साथै लोकतान्त्रिक संरचनासमेत कमजोर बनाइयो ।

‘देशभित्रको असन्तोषलाई उपयोग गरेर बाह्य शक्तिहरूले राजनीतिक रूपमा अस्थिरता ल्याउन खोजेकोमा हामी धेरै चिन्तित छौँ,’ ज्ञवालीले बैठकमा भनेका छन् ।

उनले पछिल्लो राजनीतिक घटनाक्रमका क्रममा निर्वाचित सरकार ढलेको र संसद् विघटन भएको उल्लेख गर्दै नेपालले त्यसपछिको परिस्थितिलाई लोकतान्त्रिक प्रक्रियामार्फत सम्बोधन गरिरहेको बताए ।

ज्ञवालीले जनताको मत र लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने बाटोबाट मुलुक अघि बढ्नुपर्नेमा जोड दिए ।

बैठकमा उनले क्युबाले नाकाबन्दीविरुद्ध गरेको संघर्षको समेत प्रशंसा गरे । क्युबाले कठिन परिस्थितिको साहसपूर्वक सामना गर्दै नाकाबन्दीलाई मर्यादाका साथ झेलेको उनको भनाइ थियो ।

बदलिँदो विश्व शक्ति संघर्ष र वामपन्थी पार्टीहरूबीचको सहकार्यबारे समेत ज्ञवालीले धारणा राखेका थिए । उनले समाजवादी सिद्धान्त र कार्यक्रमको आवश्यकता अझै सान्दर्भिक रहेको पुष्टि गर्ने विभिन्न तथ्य प्रस्तुत गर्दै वामपन्थी शक्तिबीच सहकार्य र एकताको आवश्यकतामा जोड दिएका थिए ।