आर्थिक सुधार, लगानी प्रवर्द्धनका विषयमा राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग अर्थमन्त्रीको छलफल

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकलाई अर्थ मन्त्रालयमा बोलाएर आर्थिक सुधार, लगानी प्रवर्द्धन र संरचनागत रूपान्तरणमा राष्ट्र बैंकको भूमिका थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन्।

चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका क्रममा उद्योगी व्यवसायी र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग परामर्श गरिसकेपछि अर्थमन्त्री वाग्लेले बुधबार राष्ट्र बैंकका उच्च अधिकारीसँग मौद्रिक नीतिको भूमिका र आगामी सुधारका विषयमा छलफल गरेका हुन्।

कार्यकारी निर्देशकहरूलाई सम्बोधन गर्दै वाग्लेले निजी क्षेत्रलाई केवल सहुलियत नभई स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयन आवश्यक रहेको बताए। सरकार र राष्ट्र बैंकको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

पछिल्लो एक दशकको आर्थिक अवस्थाको समीक्षा गर्दै वाग्लेले नीतिगत निर्णय कार्यान्वयनमा किन अपेक्षित परिणाम आउन सकेन, निजी क्षेत्रको आत्मविश्वास किन घट्यो, बैंकमा तरलता बढ्दा पनि उद्योगमा कर्जा किन विस्तार हुन सकेन, उत्पादन र उत्पादकत्व किन अपेक्षाअनुसार बढ्न सकेन भन्ने प्रश्न उठाए। उनका अनुसार यिनै प्रश्नको उत्तरले आगामी दशकको आर्थिक नीतिको दिशा निर्धारण गर्नेछ।

अर्थमन्त्रीले कार्यकारी निर्देशकसँग नियामक निकायको भूमिकाबारे पनि प्रश्न गर्दै राष्ट्र बैंक समस्या समाधान गर्ने संस्थाका रूपमा अघि बढ्नुपर्ने धारणा राखे। उनले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह विस्तार, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारीमा रूपान्तरण, पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध सुदृढ बनाउने उपायबारे सुझाव मागे।

त्यसैगरी मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वय, डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण तथा वैकल्पिक वित्तीय उपकरणलाई प्रोत्साहन गर्ने विषयमा पनि उनले राष्ट्र बैंकको दृष्टिकोण जान्न खोजेका थिए।

वाग्लेले आगामी दिनमा राष्ट्र बैंकको नियमन केवल नियन्त्रणमा सीमित नभई उत्पादनशील आर्थिक गतिविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताए। नेपाललाई अहिले सबैभन्दा बढी नीतिगत आत्मविश्वास आवश्यक रहेको उल्लेख गर्दै उनले ‘यो सम्भव छैन’ भन्ने सोचभन्दा ‘यसलाई सम्भव बनाउन के गर्नुपर्छ?’ भन्ने दृष्टिकोण अपनाउन आग्रह गरे।

सरकारले कानुनी संशोधन, संस्थागत सुधार र बजेट कार्यान्वयनलाई तीव्रता दिइरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले मौद्रिक क्षेत्रबाट पनि त्यही स्तरको स्पष्टता, प्रतिबद्धता र गति अपेक्षा गरेको बताए। उनले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई मुलुकको आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा अघि बढ्न आग्रह गरे।