अमेरिकी भिसामा नेपालीका लागि ३० लाखसम्म धरौटी अनिवार्य

काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटकीय (बी–२) तथा व्यापारिक (बी–१) भिसामा लागू गरेको ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म परीक्षणका रूपमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी रहेको निष्कर्ष निकाल्दै उक्त व्यवस्थालाई स्थायी नियमका रूपमा कार्यान्वयन गर्ने जनाएको हो।

नयाँ व्यवस्थाअनुसार नेपालका नागरिकले अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि बी–१ वा बी–२ भिसा आवेदन दिँदा भिसा प्राप्त गर्नुअघि अनिवार्य रूपमा १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। नेपाली मुद्रामा यो रकम विनिमय दरअनुसार करिब ३० लाख रुपैयाँसम्म पुग्न सक्छ।

यसअघि परीक्षण अवधिमा कन्सुलर अधिकारीको विवेकमा ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरसम्म धरौटी निर्धारण गर्न सकिने व्यवस्था थियो। तर नयाँ नियम लागू भएपछि ५ हजार डलरको विकल्प हटाइएको छ भने अब १० हजार र २० हजार अमेरिकी डलरका दुई विकल्प मात्र कायम रहनेछन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार धरौटी रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ। भिसा अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरेपछि भिसाको अवधि समाप्त हुनुअघि नियमअनुसार स्वदेश फर्किएमा उक्त धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ ।