तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र प्रथम उपराष्ट्रपतिसँग छलफल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तराई–मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे प्रथम राष्ट्रपति डा. रामबरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्तामा सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जसहित तराई–मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे विस्तृत छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

छलफलका क्रममा राष्ट्रपति पौडेलले पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपालमा सदियौँदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई जोगाउन सबै पक्षले संयम र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी, प्रथम राष्ट्रपति डा. रामबरण यादवले वर्तमान संवेदनशील परिस्थितिमा सरकारले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकसँग समन्वय र सहकार्य गर्दै समस्या समाधानका लागि प्रभावकारी नेतृत्व प्रदान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

छलफलमा शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संवाद, सहकार्य र आपसी विश्वासलाई थप सुदृढ बनाउनुपर्ने विषयमा पनि जोड दिइएको जनाइएको छ।