सामाजिक सद्भाव खलबल्याएको आरोपमा मधेशका पाँच जिल्लाबाट ३६ जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीले सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा मधेश प्रदेशका पाँच जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेहरू सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सा जिल्लाका हुन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी धनुषाबाट १९ जना पक्राउ परेका छन्। त्यसपछि सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना र पर्साबाट १ जना पक्राउ परेका छन्।
प्रहरीले सामाजिक सद्भाव र सार्वजनिक शान्ति भंग हुने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।
