नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक सञ्चालनमा
काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।
उद्घाटनपछि सुरुवाती चरणमा एम्बुलेन्स, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइने आयोजनाले जनाएको छ। केही दिन परीक्षण सञ्चालन गरेपछि सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्याङ्कन गर्दै सबै वर्गका सवारीसाधनका लागि खुला गरिनेछ। परीक्षण अवधिभर कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
आयोजनाका अनुसार मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर र सहायक (उद्धार) सुरुङको लम्बाइ २ हजार ५ सय ५७ मिटर रहेको छ। मुख्य सुरुङबाट नियमित सवारी सञ्चालन हुनेछ भने सहायक सुरुङ आपत्कालीन उद्धारका लागि प्रयोग गरिनेछ।
सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ भने बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ।
पैदलयात्री, मोटरसाइकल, तीनपाङ्ग्रे सवारी, साथै पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
सुरुङमार्गमा सिसीटिभी, सञ्चार प्रणाली, दमकल, आकस्मिक उद्धार सेवा, अक्सिजन प्रवाहलगायत आधुनिक सुरक्षा प्रणाली जडान गरिएको छ। चन्द्रागिरी नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने यो सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिका अन्तर्गत सिस्नेखोलामा निस्किन्छ। यसले नागढुङ्गा सडकखण्डको जाम, उकालो र घुमाउरो बाटो छोट्याउँदै यात्रुहरूको करिब एक घण्टा समय बचत गर्ने अपेक्षा गरिएको छ।

सुरुङमार्ग निर्माणमा जापान सरकारको करिब २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ। निर्माण कार्य जापानको हाज्मा एन्डो कर्पोरेसनले सम्पन्न गरेको हो। ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारी तथा अन्य प्राविधिक कारणले आयोजना ढिलो भएको थियो।
उद्घाटन समारोहमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गर्दा राखिएको तर पछि हराएको शिलालेख खोजी गरी पुनर्स्थापना गरिने घोषणा गरे। उक्त शिलालेख हटाइएको विषयमा विगतदेखि विवाद हुँदै आएको थियो।
मन्त्री लम्सालले सुरुङमार्ग निर्माणले नेपाललाई नयाँ युगतर्फ अघि बढाएको उल्लेख गर्दै अब देशका विभिन्न स्थानमा पनि यस्ता पूर्वाधार निर्माण गरिने बताए।
उनले भने, “अब देशभर यस्ता सुरुङमार्ग बन्छन्। यो सुरुङमार्गले हामीलाई धेरै अनुभव दिएको छ। नेपाल अब सुरुङमार्ग निर्माणको नयाँ युगमा प्रवेश गरेको छ।”
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सम्भाव्यता अध्ययन २०६६/६७ सालमा सुरु भएको थियो। आयोजना २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा सम्पन्न भएको थियो। अहिले सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको हो।
