एमबीएसको प्रश्नपत्र दुई कलेजका शिक्षकले सार्वजनिक गरेको खुलासा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कोटेश्वरस्थित हिमालयन कलेज र बागबजारस्थित काठमाडौं मोडेल कलेज (केएमसी) मा फाइनान्स अध्यापन गराउने ३३ वर्षीय सन्दीप सिंहलाई आइतबार पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बाट पक्राउ परेका सिंहको स्थायी ठेगाना कैलालीको घोडाघोडी नगरपालिका–११ रहेको छ। उनीमाथि शिक्षा ऐन, २०२८ अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट सिंहले एमबीएस प्रथम सेमेस्टरको एमजीटी–५१५ ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै ह्वाट्सएप समूहमा सार्वजनिक गरेको खुलेको सीआईबीले जनाएको छ।
उक्त प्रश्नपत्र चुहावटसँग सम्बन्धित ह्वाट्सएप समूहका स्क्रिनसटहरू सोही दिन ‘टीयू स्टुडेन्ट्स’ नामक फेसबुक पेजमार्फत सार्वजनिक भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।
‘ह्वाट्सएप समूहमा उहाँकै खाताबाट प्रश्नपत्र पठाइएको देखिएको छ। तर उहाँले प्रश्नपत्र कसरी प्राप्त गर्नुभयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ,’ एसएसपी जबराले बताएका छन्।
सीआईबीले एमबीएस प्रथम सेमेस्टरका अन्य विषयका परीक्षा अझै बाँकी रहेकाले यस्ता गैरकानुनी गतिविधि दोहोरिन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। प्रश्नपत्र चुहावट वा परीक्षासम्बन्धी कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न पाइए कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत ब्युरोले दिएको छ।
