सुनसरीमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु, पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि स्थानीय प्रशासनले जिल्लाको दक्षिणी क्षेत्रका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन्। कर्फ्यु अवधिभर हिँडडुल, भेला, जुलुस तथा सभा–सम्मेलन गर्न निषेध गरिएको छ।

आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगञ्ज–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा प्रहरीको गोली लागेर २१ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

सोमबार बिहान अवस्था सामान्य रहे पनि थप अप्रिय घटना हुन नदिन प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै कर्फ्यु लागू गरेको जनाएको छ।

कर्फ्यु तोकिएका क्षेत्रहरूमा हरिनगरा बजारको नूनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटाहा बजारको मोरीया धार खोलादेखि हरिनगर गाउँपालिका कार्यालयसम्म, कप्तानगञ्ज बजारको यादव टोलदेखि नेपाल–भारत सीमासम्म, घुस्की बजारको कासमिया मदरसादेखि हिलाल पब्लिक स्कुलसम्म तथा देवानगञ्ज बजारको मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्मको क्षेत्र समेटिएको छ।

प्रशासनले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाभर पनि निषेधाज्ञा जारी गरेको छ।

प्रारम्भिक जानकारीअनुसार आइतबार राति युवाहरूको एक समूह डिजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा रातिको समयमा होहल्ला भएको भन्दै अर्को समूहले विरोध गरेपछि विवाद सुरु भएको थियो। विवाद चर्किँदै झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ।

घटनापछि राति सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो। त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी घिमिरेले सोमबार बिहानदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन्।