५ लाख रुपैयाँ घुस लिदालिँदै कर अधिकृत पक्राउ

सिरहा । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालय परिसरबाटै रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले अडिट प्रक्रिया सहज बनाइदिने भन्दै घुस मागेको आरोप छ।

स्रोतका अनुसार पालले आफूभन्दा माथिका अधिकारीहरूलाई समेत मिलाउनुपर्ने भन्दै सुरुमै ५ लाख रुपैयाँ मागेका थिए। घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढाइने भन्दै कम्पनीबाट आवश्यक कागजात संकलन गरिएको आरोप छ।

अडिटका क्रममा कार्यालयले कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ दायित्व देखाएको थियो। थप कागजात पेश गरिएपछि कर दायित्व अझ ३० देखि ३५ लाख रुपैयाँसम्म बढ्न सक्ने जानकारी कम्पनीलाई दिइएको बताइएको छ।

त्यसपछि कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखेको र कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति गराउन खोजिएको आरोप छ।

घुस लेनदेनका लागि सुरुमा कम्पनीका प्रतिनिधिलाई विभिन्न स्थानमा बोलाइएको थियो। पछि कर अधिकृत पालले रकम कार्यालयमै ल्याउन निर्देशन दिएका थिए।

कार्यालयमै ५ लाख रुपैयाँ घुस बुझ्ने क्रममा अख्तियारको टोलीले पाललाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी सरोज राईले जानकारी दिए।

घटनाबारे अख्तियारले थप अनुसन्धान अघि बढाएको जनाएको छ। आरोपमा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको अख्तियारको भनाइ छ।