‘गौँथली’को व्यापार उकालोमा, अधिकांश शो हाउसफुल

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले प्रदर्शनको पहिलो सातामै उत्साहजनक व्यापार गर्न थालेको निर्माण पक्षले जनाएको छ। सुरुआती दिनमा औसत देखिएको दर्शक उपस्थिति पछिल्ला दिनमा उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरिएको छ।

निर्माण टोलीका अनुसार प्रदर्शनको छैटौँ दिनसम्म आइपुग्दा देशका अधिकांश हलका शो हाउसफुल भएका छन् भने कतिपय शोको टिकट ‘फिलिङ फास्ट’ अवस्थामा पुगेको छ। विशेषगरी दिउँसो र साँझका शोका लागि बिहानै ८० देखि ९० प्रतिशतसम्म टिकट अनलाइनमार्फत बिक्री भइसकेको निर्देशक कपिल रिजालले जानकारी दिए।

उनका अनुसार धेरै हलका शो बिहानै हाउसफुल हुने भएकाले दर्शकलाई अग्रिम रूपमा टिकट बुक गर्न आग्रह गरिएको छ।

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

डा. भोला रिजालको कथामा आधारित यस फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावनात्मक कथावस्तुमा आधारित ‘गौँथली’को वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरिरहेका छन्।