कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ मा, नेताहरुले भने ‘अब आफ्नै बाटो लिन्छौं’

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गर्दै त्यसपछि समूहले आगामी राजनीतिक रणनीति तय गर्ने संकेत दिएका हुन्।

नेता सिंहले सातै प्रदेशमा भेला सम्पन्न भइसकेको जानकारी दिँदै अब राष्ट्रिय भेलामार्फत आगामी बाटो तय गरिने बताए। उनले १५औँ महाधिवेशनलाई पार्टी एकताको महाधिवेशन बनाउनुपर्नेमा आफूहरू प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सम्मान र विधिको पक्षमा आफूहरू कुनै सम्झौता नगर्ने स्पष्ट पारे। उनले पार्टी सभापति गगनकुमार थापाले पहल नगरेसम्म कांग्रेसभित्रको एकता सम्भव नहुने दाबी गरे।

खड्काले पार्टी नेतृत्वले एकता कायम गर्न आवश्यक पहल नगरेको आरोप लगाउँदै आफूहरू निष्क्रिय नबस्ने चेतावनी दिए। युवालाई अगाडि सारेर उनीहरूको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सम्मानका विषयमा कुनै सम्झौता स्वीकार्य नहुने बताए।

पार्टी एकताको पक्षमा आवाज उठाउँदा ‘बार्गेनिङ’को आरोप लगाइएको भन्दै उनले असन्तुष्टि जनाए। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई पूर्णता दिई सबै पक्षलाई समेट्नुपर्ने माग राख्दै उनले त्यसलाई बार्गेनिङका रूपमा व्याख्या गर्नु अनुचित भएको बताए।

विशेष महाधिवेशन पार्टी विधानविपरीत भएको दाबी गर्दै खड्काले विशेष महाधिवेशनबाट आएको ५४ प्रतिशत र नियमित महाधिवेशनबाट आएको ४६ प्रतिशत शक्तिलाई एकीकृत गर्न सभापति थापा तयार नभएसम्म पार्टी एकता सम्भव नहुने धारणा राखे।

कार्यक्रममा नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र हुकुमी शैली बढ्दै गएको आरोप लगाए। उनले बिना स्पष्टीकरण र सोधपुछ वडा सभापतिहरूलाई जिम्मेवारीबाट हटाइएको भन्दै त्यसप्रति आपत्ति जनाए।

कोइरालाले निरंकुशताको अन्त्यका लागि स्थापना भएको कांग्रेसभित्र नै निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गर्दै पार्टी सञ्चालन र संगठनात्मक एकतालाई सुदृढ बनाउन सभापति गगनकुमार थापाले गम्भीर पहल गर्नुपर्नेमा जोड दिए।