अहिले महागोयबल्स शैली चलेको छ : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झुटलाई बारम्बार दोहोर्याएर सत्यका रूपमा स्थापित गर्ने प्रवृत्ति अहिले झन् बढ्दै गएको टिप्पणी गरेका छन्।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको आधिकारिक वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गर्दै ओलीले समाजमा सत्यभन्दा झुटलाई बढी विश्वास गर्ने अवस्था सिर्जना हुन थालेको बताए।
उनले जर्मनीका पूर्वप्रचारमन्त्री पल जोसेफ गोयबल्सको उदाहरण दिँदै झुटलाई निरन्तर दोहोर्याएर सत्यजस्तै बनाउने शैलीलाई ‘गोयबल्स शैली’ भनिने उल्लेख गरे। अहिले भने त्योभन्दा पनि बढेर ‘महागोयबल्स शैली’ चलिरहेको उनको भनाइ थियो।
ओलीले भने, “हाम्रो सामु नयाँ परिस्थिति सिर्जना भएको छ। कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो बनाइदिने तथा त्यसैलाई मानिसले पत्याउने अवस्था आएको छ। अहिले त गोयबल्सभन्दा पनि महागोयबल्स शैली चलेको छ।”
उनले समाज नै झुटमा रमाउन थालेको हो कि भन्ने चिन्ता व्यक्त गर्दै सत्य बोल्ने र सत्यलाई स्वीकार गर्ने संस्कृतिमा ह्रास आएको जस्तो अनुभूति भइरहेको बताए।
अध्यक्ष ओलीले यस्तो अवस्थाबाट समाजलाई सही दिशामा डोर्याउन सूचना प्रविधिको प्रभावकारी र जिम्मेवार प्रयोग आवश्यक रहेकोमा जोड दिए।
सो अवसरमा उनले एमालेको आधिकारिक वेबसाइट र मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गर्दै डिजिटल प्रविधिको उपयोगमार्फत पार्टी संगठनलाई थप आधुनिक, सुदृढ र जनमुखी बनाउने लक्ष्य रहेको बताए।
