सप्तकोशीमा जलप्रवाह उच्च, सतर्कतास्वरूप रातो बत्ती बालियो
सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह उल्लेख्य रूपमा बढेपछि सुनसरी प्रशासनले उच्च सतर्कता अपनाउँदै विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेका छन्।
हाल कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ५१ हजार १९५ क्युसेक पानीको बहाव मापन गरिएको छ। जलप्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था अनुसार ब्यारेजमा रातो बत्ती बालिएको छ। साथै, पानीको बहाव व्यवस्थापनका लागि ब्यारेजका २० वटा ढोका खोलिएका छन्।
अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान र कटानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्लामा विपद् प्रतिकार्य योजना प्रभावकारी रूपमा कार्यान्वयनमा रहेको बताए। उनले विपद् व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको र आवश्यक कार्यविधिसमेत तयार भइसकेको जानकारी दिए।
बर्खायाममा उद्धार, राहत, प्रभावितको सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनःस्थापनाका लागि जिल्ला प्रशासन र सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार कोशी ब्यारेज पुल तथा कमजोर तटबन्धहरूको मर्मतसम्भार गरिसकिएको छ। ठूलो बाढीका कारण कुनै स्थानमा कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकायलाई तत्काल परिचालन गर्ने व्यवस्था मिलाइएको उनले बताए।
स्थलगत अनुगमनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरेलगायत सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
