सेयर बजारका विषयमा भ्रामक र प्रायोजित हल्ला फैलाइएको अर्थमन्त्रीको सचिवालयको दाबी
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारका विषयमा भ्रामक र प्रायोजित हल्ला फैलाइएको दाबी गर्दै लगानीकर्तालाई त्यस्ता सूचनाप्रति सचेत रहन आग्रह गरेको छ।
नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन जारी गरिएको अपिलमा सचिवालयले नियमनकारी निकायलाई प्रभावित पारेर बजारमा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको जनाएको छ।
सचिवालयका अनुसार नयाँ सरकार गठनपछि सेयर बजारमा आएको गिरावटलाई आधार बनाएर बजारको अवस्थाबारे गलत भाष्य निर्माण गर्ने प्रयास भएको छ। भारतका चर्चित सेयर कारोबारी हर्षद मेहताको उदाहरण उल्लेख गर्दै नेपालमा पनि त्यस्तै प्रवृत्ति देखाउनेहरूमाथि निगरानी र अनुसन्धान भइरहेको दाबी गरिएको छ।
सचिवालयले बजारमा ‘फलानो व्यक्तिलाई पक्राउ गर्न लागिएको’ वा ‘फलानोमाथि अनुसन्धान भइरहेको’ भन्ने किसिमका समाचार र हल्ला पूर्ण रूपमा प्रायोजित र भ्रामक रहेको स्पष्ट पारेको छ। सरकारले कम बोल्ने र धेरै काम गर्ने शैलीको फाइदा उठाएर केही समूहले त्रास फैलाउने प्रयास गरिरहेको पनि सचिवालयको भनाइ छ।
त्यस्तै, लगानीकर्तालाई क्लब हाउस, ह्वाट्सएप वा म्यासेन्जर समूह, स्वयंघोषित बजार विश्लेषक तथा अनौपचारिक स्रोतका आधारमा निर्णय नगर्न आग्रह गरिएको छ। लगानीअघि आधिकारिक सरकारी निकायबाट सूचना लिन र पर्याप्त अध्ययन गर्न सचिवालयले सुझाव दिएको छ।
सचिवालयले अर्थतन्त्रका प्रमुख सूचकहरू सुधारोन्मुख रहेको, बजारमा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको, सरकार स्थिर रहेको तथा नियमनकारी निकायमा सक्षम र इमानदार व्यक्तिहरूको नियुक्ति भइरहेको उल्लेख गर्दै यी पक्षले सेयर बजारका लागि सकारात्मक वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ।
