कोलम्बोमा ‘ह्यान्ड्स अफ एसिया’ सम्मेलन सुरु, क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) को आयोजनामा तीन दिने ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय सन्तुलन, असंलग्न परराष्ट्र नीति र समाजवाद निर्माणको आवश्यकतामा जोड दिएका छन्।
प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि र त्यसबाट सिकिएका पाठहरूको चर्चा गर्दै बदलिँदो विश्व राजनीतिक परिवेश तथा महाशक्तिहरूको बढ्दो प्रभावबीच असंलग्नताको नीति कायम राख्नु र समाजवादी निर्माणलाई प्राथमिकतामा राख्नु आवश्यक रहेको बताए।
सम्मेलनमा श्रीलंकाका वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का ऋण कार्यक्रमका कडा सर्तबीच जनमुखी नीतिहरू कार्यान्वयन गर्ने चुनौतीबारे धारणा राखे।
त्यसैगरी, मार्क्सवादी लेखक, इतिहासकार तथा ‘ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्च’का संयोजक विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थी शक्तिको उदयलाई साम्राज्यवादी संरचनाको संकटसँग जोडेर विश्लेषण प्रस्तुत गरेका थिए।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुने कार्यक्रम छ। सम्मेलनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले एसियाली कम्युनिस्ट तथा वामपन्थी नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको जनाइएको छ।
यसैक्रममा उनले सम्मेलनको साइडलाइनमा क्युबा, भेनेजुएला, ब्राजिललगायत देशका शीर्ष वामपन्थी नेताहरूसँग पनि भेटवार्ता गरेका छन्।
सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
