सिंहदरबार गेटमा मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन

काठमाडौं । सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्षसहित ६ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ।

राज्य आतंक बढ्दै गएको आरोप लगाउँदै अनेरास्ववियुले बुधबार सिंहदरबार अगाडि विरोध प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा मोटरसाइकल पार्किङ गरेर अवरोध सिर्जना गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अनेरास्ववियुका अनुसार पक्राउ पर्नेमा अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी र कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा रहेका छन्।

संगठनले सिरिस बुढाथोकीलाई पनि पक्राउ गरिएको जनाएको छ। प्रहरीले भने पक्राउ परेकाहरूको संख्या र उनीहरूमाथिको कारबाहीबारे औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।