‘कानुनी शासनमा नागरिकले मात्र होइन, सरकारले पनि कानुन पालना गर्नुपर्छ’ : ओमप्रकाश अर्याल

काठमाडौं । पूर्वगृहमन्त्री तथा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले कानुनी राज्यको आधार सरकार स्वयंले विधि र कानुनको पूर्ण पालना गर्नु रहेको बताएका छन्। उनले सरकारले नागरिकसँग प्रतिद्वन्द्विता होइन, सहकार्यको भावना लिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।

गणेश नेपालीको मृत्यु प्रकरणपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अर्यालले कानुनी शासन प्रभावकारी बनाउन सरकार सञ्चालनकर्ताले सर्वप्रथम कानुनी राज्यको मर्म बुझ्नुपर्ने उल्लेख गरेका छन्।

‘कानुनी राज्य कसरी सञ्चालन हुन्छ? सर्वप्रथम सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नुपर्छ, अनि नागरिकसँग सहकार्य गर्नुपर्छ,’ उनले लेखेका छन्। उनले अहिले पनि राज्य र नागरिकबीच सहकार्यभन्दा प्रतिद्वन्द्विताको प्रवृत्ति बढिरहेको भन्दै यसले मुलुकलाई फेरि द्वन्द्व र अनिष्टतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।

अर्यालले कानुनी शासनमा नागरिकले मात्र होइन, सरकारले पनि विधि, प्रक्रिया र कानुनको समान रूपमा पालना गर्नुपर्ने बताएका छन्। सत्य, निष्ठा र मानवताको आधारमा सबै विचार, वर्ग र समुदायका नागरिकसँग सहकार्य गरेर राज्य सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

उनले सुशासनको मेरुदण्ड नै कानुनी शासन भएको उल्लेख गर्दै कानुनी शासन भएको देशमा आम नागरिकले सास्ती भोग्ने र सरकारसँग सम्बन्धित व्यक्तिहरूले उन्मुक्ति पाउने अवस्था स्वीकार्य नहुने बताए। वर्तमान परिस्थितिले सकारात्मक संकेत नदिएको टिप्पणी पनि उनले गरेका छन्।

साथै, अर्यालले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको परिवारले न्याय पाउनुपर्ने माग गरेका छन्। उनले स्वर्गीय गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।