राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, तीन नगर प्रहरीमाथि अनुसन्धान

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। बिहीबार दिउँसो गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान करिब ११:३० बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

यस घटनासँग सम्बन्धित अनुसन्धानका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुई महिला र एक पुरुष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर सोधपुछ भइरहेको छ।

गणेशले बिहीबार दिउँसो राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनलाई तत्काल उद्धार गरी अपराह्न ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको भए पनि अवस्था अस्थिर रहेकाले अन्तिम समयमा योजना स्थगित गरिएको थियो।

मुगुका स्थायी बासिन्दा गणेश रोजगारीका सिलसिलामा काठमाडौं आएका थिए। उनका दाजु मदन नेपालीले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले अनावश्यक दुःख दिएको कारण घटना भएको आरोप लगाएका छन्।

प्रत्यक्षदर्शीका अनुसार यात्रु ओराल्न रोकेर राखिएको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएपछि गणेश आक्रोशित बनेका थिए। त्यसक्रममा नगर प्रहरीसँग भनाभन भएपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनास्थलमा खिचिएका केही भिडियोमा उनी महिला नगर प्रहरीसँग विवाद गरिरहेको पनि देखिन्छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटनाभन्दा केही दिनअघि, असार १३ गते गणेशले आफ्ना आफन्तलाई पठाएको सन्देश पनि सार्वजनिक भएको छ। उक्त सन्देशमा उनले ट्राफिक तथा नगर प्रहरीले मोटरसाइकलमा ताला लगाएको र एक हजार रुपैयाँ जरिवाना तिर्नुपरेको उल्लेख गर्दै दुःख व्यक्त गरेका थिए।

परिवारका अनुसार गणेश वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए। आर्थिक समस्या, पटक–पटक जरिवाना तिर्नुपरेको अवस्था र त्यसबाट सिर्जिएको मानसिक तनावका कारण उनी निराश बनेको हुन सक्ने परिवारको भनाइ छ।

प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।