इरानका १७० भन्दा बढी सैन्य केन्द्रमा अमेरिकी आक्रमण, होर्मुजमा जहाज आवतजावत प्रभावित

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा अमेरिकी सेनाले पछिल्लो दुई दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रमा आक्रमण गरेको जनाएको छ। यससँगै विश्वको प्रमुख तेल ढुवानी मार्ग होर्मुज स्ट्रेटमा जहाज आवतजावतसमेत प्रभावित भएको छ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का अनुसार आक्रमण गरिएका स्थानहरूमा इरानका हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डार तथा तटीय सैन्य संरचनाहरू रहेका छन्।

यसको प्रत्युत्तरमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले होर्मुज स्ट्रेटमा कुनै पनि अमेरिकी हस्तक्षेप भए कडा जवाफ दिने चेतावनी दिएको छ। आईआरजीसीले बहराइनस्थित अमेरिकी फिफ्थ फ्लीट मुख्यालय, कुवेतको अली अल–सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अखडामा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी आक्रमण जारी रहे होर्मुज स्ट्रेटको अवस्था सामान्य हुन नसक्ने र यस मार्गमा निर्भर मुलुकहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने चेतावनी इरानले दिएको छ।

यसैबीच उत्तरी इरानमा चीन र रुससँग जोडिएको रणनीतिक रेलवे पुलमा अमेरिकाले क्रुज मिसाइल प्रहार गरेको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनका क्रममा इरानसँगको युद्धविराम समाप्त भइसकेको भन्दै अब तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका छन्। यद्यपि अमेरिकी अधिकारीहरूले कतार र पाकिस्तानको मध्यस्थतामा प्राविधिक तहमा कूटनीतिक वार्ता जारी रहेको दाबी गरेका छन्।

इरानका विदेशमन्त्री अब्बास अराघचीले भने धम्की र दबाबको वातावरणमा अमेरिकासँग कुनै वार्ता वा सम्झौता सम्भव नरहेको स्पष्ट पार्दै अमेरिकाले विगतका सम्झौताहरूको सम्मान गर्नुपर्ने बताएका छन्।

यसैबीच इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई मशहदस्थित इमाम रजा दरगाहमा अन्त्येष्टि गरिएको जनाइएको छ। इरानी सञ्चारमाध्यमहरूले सात दिनसम्म चलेको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा डेढ करोडभन्दा बढी मानिस सहभागी भएको दाबी गरेका छन्।

बिहीबार इरानको बुशहर आणविक केन्द्र आसपास तथा दक्षिणी क्षेत्रका केही स्थानमा विस्फोटका आवाज सुनिए पनि अमेरिकी अधिकारीहरूले ती नयाँ आक्रमण आफूहरूले नगरेको बताएका छन्।

अमेरिकी सेनाले होर्मुज स्ट्रेट इरानको मात्र नियन्त्रणमा नरहेको दाबी गर्दै हालसम्म ८०० भन्दा बढी व्यापारिक जहाजलाई सुरक्षित रूपमा उक्त मार्ग पार गराइएको जनाएको छ।

उता कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतले आफ्ना क्षेत्रमा भएका इरानी मिसाइल आक्रमणको निन्दा गरेका छन्। जोर्डनले आफ्नो आकाशमा प्रवेश गरेका आठ इरानी क्षेप्यास्त्र खसालेको दाबी गरेको छ।

होर्मुज स्ट्रेटमा जहाज आवतजावत प्रभावित

अमेरिका–इरानबीचको बढ्दो सैन्य तनावका कारण विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज स्ट्रेटमा जहाज आवतजावत लगभग ठप्प भएको छ।

ढुवानी तथ्यांक उपलब्ध गराउने संस्था केप्लरका अनुसार बिहीबार बिहानसम्म होर्मुज स्ट्रेटबाट केवल दुईवटा तेल ट्यांकर मात्रै पार भएका थिए। यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप दबाब सिर्जना हुने चिन्ता बढाएको छ।

यसैबीच इरानको मुख्य आणविक ऊर्जा केन्द्र नजिकको बुशहर र बन्दर अब्बास क्षेत्रमा पनि विस्फोट भएको खबर सार्वजनिक भएको छ। इरानले अमेरिकाद्वारा नागरिक पूर्वाधारमा गरिएको आक्रमणलाई ‘युद्ध अपराध’को संज्ञा दिएको छ।