कर्जा विस्तार रोकिँदा अपेक्षित आर्थिक वृद्धि हुन सकेन : पूर्वगभर्नर चिरञ्जीवि नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले कर्जा विस्तारलाई नियन्त्रण गर्ने नीति अपनाइएकै कारण मुलुकले अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसकेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले कर्जा विस्तारबिना अर्थतन्त्रले गति लिन नसक्ने बताए। उनका अनुसार विगतमा १८ देखि २० प्रतिशतसम्म कर्जा विस्तार हुँदा मुलुकले ६ देखि ७ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गरेको थियो।

उनले हाल १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखिए पनि ५–६ प्रतिशतसमेत कर्जा विस्तार हुन नसकेको उल्लेख गर्दै कर्जा प्रवाह सुस्त हुँदा आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको बताए। यद्यपि अनौपचारिक क्षेत्रको सक्रियताका कारण करिब ४ प्रतिशतको आर्थिक वृद्धि भने कायम रहने उनको भनाइ थियो।

पूर्वगभर्नर नेपालले राष्ट्र बैंकलाई पर्याप्त स्वायत्तता नदिँदा सरकारले दिएको दबाबका कारण विगतमा कर्जा विस्तारमा कडाइ गर्ने निर्णय लिनुपरेको दाबी गरे। त्यसको परिणामस्वरूप अहिले मुलुक आर्थिक समस्यामा परेको उनको भनाइ छ।

उनका अनुसार नेपालको ४० प्रतिशतभन्दा बढी अर्थतन्त्र अनौपचारिक क्षेत्रमा आधारित रहेकाले त्यहाँ भइरहेका आर्थिक गतिविधिले अर्थतन्त्रलाई पूर्ण रूपमा ठप्प हुनबाट जोगाएको छ।

कर्जा विस्तारलाई नै आर्थिक समस्याको मुख्य कारणका रूपमा चित्रण गर्नु गलत रहेको उल्लेख गर्दै उनले लामो समयसम्म कर्जा विस्तारलाई रोकिराख्ने नीति कुनै पनि अर्थतन्त्रका लागि उपयुक्त नहुने बताए। उनले कर्जा विस्तारले आर्थिक गतिविधि बढाउने र समग्र अर्थतन्त्रलाई चलायमान बनाउने भएकाले यसलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे।