बालेन सरकारका १०० दिन : संवेदनशील विषयमा प्रधानमन्त्री, मन्त्रीहरूको ‘लफङ्गो’ शैलीको अभिव्यक्ति चिन्ताजनक : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारका प्रधानमन्त्री, मन्त्रीहरूले संवेदनशील विषयमा गैरजिम्मेवार ढंगले अभिव्यक्ति दिइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
सरकारको सय दिनको समीक्षा गर्न पार्टी संयन्त्रले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रदेशको नामकरणलगायत संवेदनशील मुद्दामा सरकारका मन्त्रीहरूबाट फरक–फरक र असंगत धारणा सार्वजनिक भइरहेको बताए।
उनले कुनै मन्त्रीले एकथरी अभिव्यक्ति दिने, अर्कोले त्यसमा थप्ने, अर्काले खारेज गर्ने र सरकार सञ्चालन गर्ने दलकै नेताहरूबीच समेत मत बाझिने अवस्था देखिएको उल्लेख गरे। यस्ता विषयमा संविधान निर्माणका क्रममा अपनाइएका संवेदनशीलता र सूक्ष्म पक्षप्रति सत्तापक्षका नेताहरूले पर्याप्त ध्यान नदिएको उनको आरोप थियो।
थापाले नेपाली कांग्रेस संविधान संशोधनको पक्षमा रहेको स्पष्ट पार्दै संशोधन प्रक्रिया हचुवाका भरमा अघि बढाउन नहुने बताए। उनका अनुसार संवैधानिक विषयलाई हल्का रूपमा लिँदा सामाजिक तथा राजनीतिक तनाव उत्पन्न हुन सक्ने जोखिम रहन्छ।
उनले अधिकार, भाषा, समावेशिता र विविधतासँग सम्बन्धित विषयलाई विशेष संवेदनशीलताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिए। यस्ता विषयलाई बेवास्ता गर्दै जे मन लाग्यो त्यही बोल्ने र गर्ने प्रवृत्ति चिन्ताको विषय बनेको उनको भनाइ थियो।
