सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने दिशातर्फ अघि बढिरहेको छ : प्रचण्ड

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सरकारले महिला, दलित, आदिवासी र जनजातिले प्राप्त गरेका अधिकार खोस्ने तथा संविधानलाई कमजोर पार्ने प्रयास गरिरहेको दाबी गरे।

‘यो सरकार सुशासन र विकासका लागि बनेको होइन। यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा महिला, दलित, आदिवासी र जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अघि बढ्दैछ। खबरदार, तपाईं–हामी सबै एकपटक जुर्मुराउनुपर्ने अवस्था आइसकेको छ,’ उनले भने।

प्रचण्डले सरकारले सुकुमवासी बस्ती हटाउने, विद्यार्थी युनियन खारेज गर्ने, ट्रेड युनियनका अधिकार कटौती गर्ने तथा देशको सीमासम्बन्धी विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने काम गरिरहेको आरोप लगाए। यिनै विषयलाई लिएर आफूले संसद्मा आवाज उठाएको र आगामी दिनमा पनि सरकारका गतिविधिबारे थप विषय उठाउने बताए।

उनले विगतमा आफ्नो पार्टीले वर्ग संघर्ष, विचार र रणनीतिलाई बेवास्ता गरेको स्वीकार गर्दै त्यसको मुख्य जिम्मेवारी आफूले लिने बताए।

‘हामीले वर्ग संघर्ष, विचार र रणनीतिलाई बेवास्ता गर्‍यौं र दिनदिनको कार्यनीतिमै रमायौं। त्यही कारण हामी कमजोर भयौं। त्यसको मुख्य जिम्मेवारी मैले नै लिनुपर्छ,’ उनले भने।

प्रचण्डले आफू तीनपटक प्रधानमन्त्री भइसकेकाले विगतका कमजोरीबाट शिक्षा लिएर अब विचार, सिद्धान्त र रणनीतिलाई केन्द्रमा राख्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए।