गगनको राजीनामामा विश्वप्रकाश शर्मा: ‘नैतिकताभन्दा अहिले स्थिति सम्हाल्ने जिम्मेवारी महत्वपूर्ण’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामाबारे केन्द्रीय समिति बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरिने बताएका छन्।

शुक्रबार बस्ने केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रतिक्रिया दिँदै शर्माले थापाको राजीनामालाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले नैतिक जिम्मेवारी लिनु सकारात्मक भए पनि वर्तमान अवस्थामा मुख्य दायित्व स्थिति सम्हाल्नु रहेको उल्लेख गरेका छन्। ‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो, तर अहिलेको प्रधान दायित्व स्थिति सम्हाल्नु हो,’ उनले लेखेका छन्।

शर्माका अनुसार बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा, थापाको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकैसाथ पेश गरिनेछ।

साथै, उनले डढेलो निभाउन गएका व्यक्तिलाई नै आगलागीको दोष थोपर्नु न्यायसंगत नहुने टिप्पणी गर्दै नेतृत्वमाथि मात्रै दोषारोपण गर्नु उपयुक्त नभएको संकेत गरेका छन्।