निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, सांसद शपथ र सरकार गठनको प्रक्रिया अघि बढ्ने

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ। शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले चुनौतीपूर्ण परिस्थितिका बीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गरे। उनले निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी तथा सबै सरोकारवालालाई धन्यवाद दिँदै यसले लोकतन्त्रप्रति जनविश्वास थप सुदृढ भएको उल्लेख गरे।

आयोगले औपचारिक रूपमा प्रतिवेदन पेश गरेसँगै अब नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण र सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। संसद सचिवालयले चैत १२ गते शपथ ग्रहण कार्यक्रम तय गरेको छ।

शपथपछि प्रतिनिधिसभामा १८२ सिटसहित दुईतिहाइ नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल सरकार गठन गर्ने तयारी गरेको छ। संविधानको धारा ७६ (१) अनुसार रास्वपाले संसदीय दलको नेता चयन गरेपछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ।