रास्वपाका दुई नवनिर्वाचित सांसदविरुद्ध सर्वोच्चमा रिट, नतिजा र प्रमाणपत्र बदरको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद धनेन्द्र कार्की र सूर्यबहादुर तामाङविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

सिन्धुली क्षेत्र नं १ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर क्षेत्र नं २ का एमालेकै उम्मेदवार अम्बरबहादुर रायमाझीले निर्वाचन आयोगको निर्णय बदर गर्दै आफूहरूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन्।

उनीहरूले वारेस युवराज पौडेलमार्फत दायर गरेको रिटमा रास्वपाका दुवै सांसद उम्मेदवार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेकाले उम्मेदवार बन्न अयोग्य भएको दाबी गरिएको छ। आयोगलाई जानकारी नदिई अवैध रूपमा उम्मेदवारी दिएको आरोप पनि उनीहरूले लगाएका छन्।

उम्मेदवारी नै बदर हुने भएकाले दोस्रो बढी मत ल्याएका आफूहरूलाई विजयी घोषणा गर्नुपर्ने माग रिटमा गरिएको छ। साथै, निर्वाचन आयोगले दिएको विजयी घोषणा र प्रमाणपत्र बदर गर्न तथा उनीहरूको शपथ रोक्न अन्तरिम आदेश माग गरिएको छ।

दुवै रिटमाथि चैत २५ गते सुनुवाइका लागि पेसी तोकिएको जानकारी दिइएको छ।

यसअघि धनुषा क्षेत्र नं १ का रास्वपाकै उम्मेदवार किशोरी साहको उम्मेदवारी पनि कर्जा सूचना केन्द्रको कालो सूचीका कारण बदर गरिएको थियो। उनले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ।