थुनामुक्त भएपछि दुर्गा प्रसाईंको चेतावनी: ‘राजा सडकमा निस्किए थुन्ने दम छ ?’
काठमाडौं । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपछि आज थुनामुक्त भएका छन्। उनलाई बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालत ले हिजो रिहा गर्न आदेश दिएको थियो।
निर्वाचन भाँड्ने गतिविधि गरेको आरोपमा निर्वाचन आयोग को पत्राचारपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। आदेश आए पनि प्रक्रिया पूरा गरी आज मात्र उनी रिहा भएका हुन्।
रिहा भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रसाईंले देश गलत दिशातर्फ गएको दाबी गरे र आफूले चुनाव नहुने भनेकै कारण पक्राउ परेको बताए।
उनले भने, ‘राजाले पनि चुनाव गर्नु हुँदैन भन्नुभएको छ। मलाई मात्रै किन थुनियो ?’
गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई लक्षित गर्दै उनले ‘बोल्न नपाइने लोकतन्त्र हो ?’ भन्दै प्रश्न गरे।
राजा स्वयं सडकमा आउन सक्ने दाबी गर्दै उनले पक्राउ गरेर देखाउन चुनौती दिए। ‘राजा बाटोमा निस्किए भने थुन्ने दम छ ?’ उनले भने।
हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरबारे पनि प्रसाईंले स्पष्टीकरण दिए। उक्त तस्बिर शेरबहादुर देउवा की पत्नी आरजु देउवा र पूर्णबहादुर खड्का सँग पुरानो भेटका क्रममा खिचिएको उनले बताए।
‘दुई–अढाइ वर्षअघि स्कुलसम्बन्धी कामले भेट भएको हो। फोटो खिच्दैमा केही अर्थ हुँदैन,’ उनले भने। आफूले केपी ओली र प्रचण्ड सँग पनि फोटो खिचेको उल्लेख गरे।
प्रसाईंले अन्त्यमा भने, ‘देश मेरो हातमा आयो भने पहिले आरजु देउवालाई, त्यसपछि केपी ओलीलाई थुन्छु। सिंहदरबार र सर्वोच्च अदालत जलाउने योजना बनाउनेलाई पनि कारबाही गर्छु।’
