शिक्षामा रास्वपाको प्रतिबद्धता : शिक्षक–प्राध्यापकलाई राजनीतिबाट पूर्ण निषेध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शिक्षक–प्राध्यापकलाई राजनीतिमा संलग्न हुन नदिने घोषणा गरेको छ। प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सार्वजनिक बाचापत्रमा विद्यालय र विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिबाट मुक्त गर्ने लक्ष्य राखिएको छ।

रास्वपाले शैक्षिक संस्थाभित्र दलगत कार्यक्रम, तोडफोड र अवरोधजन्य गतिविधि रोक्ने तथा गैर–दलीय, प्राज्ञिक विद्यार्थी प्रतिनिधित्व प्रणाली विकास गर्ने जनाएको छ। सार्वजनिक शिक्षाको गुणस्तर र पहुँच बढाउन दीर्घकालीन लगानी गर्ने, निजी शिक्षालाई परिपूरकका रूपमा स्वीकार गर्दै शुल्क, सेवा मापदण्ड र पूर्वाधार कडाइका साथ नियमन गर्ने प्रतिबद्धता पनि जनाएको छ।

हरेक प्रदेशमा नमुना समावेशी विद्यालय स्थापना गर्ने, अपाङ्गता भएका बालबालिकाका लागि थेरापी सेवा विद्यालयमै उपलब्ध गराउने र शिक्षकलाई विशेष तालिम दिने योजना छ। शिक्षक छनोट, पदोन्नति र मूल्याङ्कन मेरिट–आधारित र पारदर्शी बनाइनेछ।

मौलिक सीप संरक्षणका लागि ‘गुरु–चेला’ परम्परामा आधारित छात्रवृत्ति तथा तालिम कार्यक्रम सञ्चालन गरिनेछ। उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउँदै नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा केन्द्रका रूपमा विकास गर्ने, विदेशी डिग्री कार्यक्रम, शिक्षक र विद्यार्थीका लागि सहज भिसा व्यवस्था गर्ने प्रतिबद्धता पनि रास्वपाले जनाएको छ।